बागलुङको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका ६२ वर्षीय देउबहादुर सार्कीको ढुंगा प्रहार गरी हत्या भएको छ। प्रहरीले उनकी श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार, पक्राउ पर्नेमा सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामी छन्।
मृतक सार्की र पक्राउ परेका अन्य तीन जना हाडीकोटमा सँगै मजदुरी गर्थे।
घटना सोमबार बिहान छोरेडाँडाखानी गाउँमा भएको थियो। मदिरा सेवन गरी काम गर्ने स्थलतर्फ जाँदै गर्दा सामान्य विवादका क्रममा सार्कीलाई ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए।
प्रहरीले राति नै हत्यामा संलग्न तीनै जनालाई गाउँबाट नियन्त्रणमा लिएको थियो। जिल्ला अदालत बागलुङबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ।
अनुसन्धानमा मृतक सार्की र उनकी श्रीमती नेपालीबीच ३६ वर्षको उमेर अन्तर रहेको र उनीहरूबीच बेलाबेलामा सामान्य झगडा हुने गरेको खुलेको छ।
मृतक सार्कीका जेठी श्रीमतीतर्फ दुई छोरी, माइली श्रीमतीतर्फ एक छोरा र हालकी श्रीमतीबाट चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ।
