NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बागमती सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्री बानियाँ अल्पमतमा

नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमालेका ६ जना मन्त्रीले बुधबार सामूहिक राजीनामा बुझाएका हुन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 July 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
बागमती सरकार एमाले
Share:

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। केन्द्रको निर्देशनमा एमालेका ६ जना मन्त्रीले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन्। यससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार सोमबारको संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको थियो। तर मंगलबार केन्द्रबाट आएको निर्णयपछि मन्त्रीहरूले राजीनामा दिएका हुन्।

मुख्यमन्त्री बानियाँलाई भेटेर राजीनामा बुझाउने तयारीमा रहेका मन्त्रीहरू उनी चितवनबाट फर्किन ढिला भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र दर्ता गराउन पुगेका थिए। एमालेले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

राजीनामा बुझाउने मन्त्रीहरूमा उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, विना विभागीय मन्त्री किरण थापा, विना विभागीय मन्त्री भरतबहादुर केसी र विना विभागीय मन्त्री जयराम थापा थिए।

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको थियो। मन्त्रालय पुनर्संरचनापछि एउटै मन्त्रालयमा तीन जनासम्म मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। मन्त्रालय पुनर्गठन भएको एक सातामै कांग्रेस–एमालेबीचको सत्ता सहकार्य अन्त्य भएको हो।

एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन्। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले अब ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ। सरकारको निरन्तरताका लागि उनले ५३ सांसदको समर्थन जुटाउनुपर्नेछ।

हाल ११० सदस्यीय बागमती प्रदेश सभामा ६ पद रिक्त छ। १०४ सदस्य कायम रहेको सभामा सरकार गठन वा निरन्तरताका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार