बागमती प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्ष इन्द्रबहादुर बानियाँले जेठ १२ गते प्रस्तुत गरेको कार्यक्रम मंगलबारको बैठकले स्वीकृत गर्यो।
मुख्यमन्त्री बानियाँले आगामी बजेट समानुपातिक वितरण र उत्पादनमुखी विकासमा केन्द्रित हुने बताए। उनले बजेटमा दोहोरो मापदण्ड नअपनाइने स्पष्ट पार्दै ‘गाजरजस्तो भित्र-बाहिर एउटै हुने बजेट’ ल्याउने प्रतिबद्धता व्यक्त गरे।
उनले किसानलाई उत्पादनशील बनाउने, प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिने र रैथाने बाली तथा खाद्य संस्कृतिको संरक्षणमा जोड दिइने बताए। प्रत्येक पालिकामा स्थानीय खानाका परिकार प्रवर्द्धन गर्न ‘एक पालिका–एक खाना घर’ अवधारणा अन्तर्गत बजेट व्यवस्था गरिनेछ। रैथाने उत्पादनको संरक्षण, संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न प्रदेश सरकारले पहल गर्नेछ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण चित्रकारले कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत जनतालाई लाभ पुग्ने गरी अघि बढाउनुपर्नेमा जोड दिए। नेकपा (एमाले) का सांसद हरिप्रसाद सापकोटाले पर्यटन विकासका लागि पूर्वाधार निर्माण र ‘घुमौं बागमती, बुझौं संस्कृति’ नारालाई व्यवहारमा उतार्नुपर्ने बताए।
नेकपाका सांसद रामप्रसाद ढुंगानाले युवाशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने र घरबारविहीन नागरिकको समस्या समाधानमा प्रदेश सरकारले पहल गर्नुपर्ने औँल्याए। सांसद मातृकाप्रसाद भट्टराईले उत्पादन र रोजगारीलाई प्राथमिकता दिन सुझाव दिए। नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईँले कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरे। राप्रपाका सांसद उद्धव थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
नीति तथा कार्यक्रममाथि नेकपाका रत्नप्रसाद ढकाल, सुष्पा भुलेज न्यौपाने, युवराज चौलागाई तथा राप्रपाकी लक्ष्मी घिमिरेले संशोधन प्रस्ताव दर्ता गरेका थिए। प्रदेश सभाले ती सबै संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गर्यो।
प्रदेश सभाको अर्को बैठक जेठ ३१ गते बस्ने गरी स्थगित गरिएको छ।
