NM Khabar 6 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाँकेमा ३० प्रतिशत मात्रै धान रोपाइँ: वर्षा अभावले किसान संकटमा

पर्याप्त वर्षा अभावले बाँकेमा हालसम्म ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। सिक्टा सिँचाइ र भूमिगत पानी प्रयोग भएका क्षेत्रमा मात्र रोपाइँ सम्भव भएको छ, अधिकांश किसान आकाशे पानीको भरमा छन्। कृषि ज्ञान केन्द्रले भदौ पहिलो सातासम्म रोपाइँ हुने चलनले हालको अवस्था सन्तोषजनक रहेको जनाएको छ।
Kamala Devi
Kamala Devi
6 July 2026, 5:39 pm १ मिनेट पढाइ
आकार:
Share:

पर्याप्त वर्षा अभावले बाँकेमा हालसम्म ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ, जसले किसानको जीविकोपार्जनमा संकट गहिरिएको छ।

जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले सिँचाइ अभावमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ।

समयमै वर्षा नहुँदा नेपालगन्ज र खजुरा क्षेत्रमा कम रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन्।

उनका अनुसार असारको दोस्रो सातादेखि सुरु भएको रोपाइँ अहिले पनि जारी छ। रोपाइँ भएकामध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानी प्रयोग गरेको केन्द्रले जनाएको छ।

मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने शर्माले बताइन्।

बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ। जिल्लामा अधिकांश किसानले राधा ४ मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन्।

सिक्टा सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याड राखेका किसानले वर्षा हुनासाथ रोपाइँ गरेका छन्। हालसम्म कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको छ।

खजुराका कृषक शरण कर्माचार्यले परम्परागत रुपमा ढिलो धान रोप्ने चलन भएका कारण पनि कतिपय स्थानमा खेतमा पानी भए पनि बीउ ठूलो नभएकाले किसानले रोपाइँ गर्न नसकेको बताए।

ढिलो वर्षा भए पनि त्यहाँको चलनअनुसार हालसम्मको रोपाइँको अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकेमा किसानले भदौ पहिलो सातासम्म धान रोपाइँ गर्दै आएको इतिहास छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार