भोजपुर जिल्लाका नागरिकलाई राष्ट्रिय परिचयपत्र सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वडास्तरबाट वितरणको तयारी सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका ६३ हजार ३०७ थान परिचयपत्र नौवटै स्थानीय तहका ८१ वडा कार्यालयमार्फत वितरण गरिनेछ।
प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार यो व्यवस्थाले नागरिकलाई सदरमुकामसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। परिचयपत्र लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ। अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर वितरण गरिनेछ।
परिचयपत्र वितरण चार चरणमा सम्पन्न गरिनेछ। पहिलो चरणमा अरुण, पौवादुङमा र टेम्केमैयुङ गाउँपालिकाका वडाबाट भदौ १० गतेदेखि वितरण सुरु हुनेछ। दोस्रो चरणमा भोजपुर नगरपालिका र रामप्रसादराई गाउँपालिका, तेस्रो चरणमा आमचोक र हतुवागढी गाउँपालिका, र चौथो चरणमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका वडाबाट वितरण गरिनेछ।
बायोमेट्रिक विवरण प्रमाणीकरण अनिवार्य भएकाले नागरिकको व्यक्तिगत उपस्थिति आवश्यक पर्नेछ। यस कार्यले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न निकै सहज हुने अपेक्षा गरिएको छ।
