भोटेकोशी नदीमा आएको बाढीले बगाएका बागलुङका १६ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनीहरू त्रिशूली हाइड्रोपावर र त्रिशूली-३ बी आयोजनामा कार्यरत थिए।
त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ जना, ढोरपाटन नगरपालिकाका दुई जना, गलकोट नगरपालिकाका एक जना बेपत्ता छन्। त्रिशूली-३ बी आयोजनामा बागलुङ नगरपालिकाका चार जना बेपत्ता सूचीमा छन्।
बेपत्ता हुनेहरूमा त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक छन्। उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति पनि बेपत्ता छन्। १६ दिनको खोजीपछि परिवारले बिहीबार हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।
बेपत्ता इन्जिनियर राजेश शर्मा पौडेल परिवारका एकमात्र छोरा रहेको आफन्त विष्णु शर्माले बताए।
