NM Khabar 10 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढी: राष्ट्रपतिद्वारा तत्काल व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोगको आग्रह

• राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रको तत्काल व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएका छन्। • सडक यातायात सञ्चालन र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिनसमेत सुझाव दिइएको छ। • मन्त्रीहरूले दसैँअघि सडक सञ्चालन र बाढीपीडितका लागि अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 September 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी व्यवस्थापन
Share:

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीको बाढीबाट प्रभावित क्षेत्रको तत्काल व्यवस्थापन, सडक यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा मुलुकको क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तरराष्ट्रिय समुदायको सहयोग लिनुपर्ने सुझाव राष्ट्रपतिले दिए। उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको हानीनोक्सानीको क्षतिपूर्ति पाउनेगरी प्रधानमन्त्रीले अन्तरराष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतलनिवासमा छुट्टाछुट्टै छलफल गरे। उनले सडक यातायात सञ्चालन एवम् बाढीपीडितको बसोबासका लागि ‘होल्डिङ सेन्टर’ व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरे। बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

बाढीप्रभावित क्षेत्रको जनजीवन सहज बनाउन तत्कालका कामलाई प्राथमिकता दिनुपर्ने राष्ट्रपतिको भनाइ थियो। मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।

मन्त्रीहरूले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिनेगरी दिनरात काम भइरहेको जानकारी दिए।

उनीहरूले वैकल्पिक सडक निर्माणलाई गति दिइएको र लामा बेलीब्रिजहरूको लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा आवश्यक सामग्री आउनेक्रममा रहेको जानकारी राष्ट्रपतिलाई गराए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार