नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित अस्थायी निवासमा सचिवालय बैठक बस्यो। बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने औपचारिक निर्णय गर्यो। उपमहासचिव लेखराज भट्टले यो जानकारी दिए।
राष्ट्रपति बन्नुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन्। उनी पहिलोपटक २०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी थिइन्। २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि निर्वाचित भइन्।
२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकियो। भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन्। उनले पुरानो पार्टी एमालेमा सदस्यता नवीकरण गराएको बताएकी थिइन्।
तर, २०८२ साउन ६ गते अध्यक्ष ओलीले केन्द्रीय समितिबाट भण्डारीको सदस्यता नवीकरण रोके।
भण्डारीले केन्द्रीय कमिटीको निर्णयलाई चुनौती दिइन्। उनले मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न नसक्ने बताइन्।
भण्डारी एमाले अध्यक्षमा उठ्ने तयारीमा थिइन्। तर, केन्द्रीय समितिको निर्णयपछि उनी ११ औं महाधिवेशनमा सहभागी हुन पाइनन्। महाधिवेशन २०८२ मंसिर २७ देखि पुस ३ सम्म भएको थियो।
भण्डारी उठ्न नपाएपछि ईश्वर पोखरेलले ओलीसँग प्रतिस्पर्धा गरे। तत्कालीन वरिष्ठ उपाध्यक्ष पोखरेलले उनको समर्थनमा प्यानल बनाएका थिए। तर, उनी अध्यक्षमा पराजित भए।
सदस्यता रोकिएयता भण्डारीलाई औपचारिक कार्यक्रममा बोलाइएको थिएन। एमालेले आइतबार उनलाई मदन-आश्रित ३३औं स्मृति दिवसमा प्रमुख अतिथि बनायो। यो निर्णय सोही कार्यक्रमको भोलिपल्ट आएको हो।
