महिलाका लागि सञ्चालन गरिने ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) ले यात्रा गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ। अधिकारकर्मी सुनिलबाबु पन्तले यो विषयमा सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
पन्तले ब्लु बसमा जन्मका आधारमा पुरुष भए पनि आफूलाई महिला पहिचान गर्ने ट्रान्सवुमन र जन्मका आधारमा महिला भए पनि आफूलाई पुरुष पहिचान गर्ने ट्रान्सम्यानले कसरी यात्रा गर्न पाउने भनी सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन्।
पन्तले उठाएको यो प्रश्नले साझा यातायातको ध्यानाकर्षण भएको कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले बताए। उनले यस प्रश्नलाई गम्भीर रूपमा लिएको र सेवा सञ्चालनअघि तयार गरिने कार्यविधिमै यसको स्पष्ट व्यवस्था गरिने जानकारी दिए।
ब्लु बस सञ्चालन गर्ने निर्णय साझा यातायातको एकल नभई नेपाल सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत अघि बढाइएको कार्यक्रम हो। सरकारले बजेट तथा नीतिगत व्यवस्था गर्नेछ भने साझा यातायातले आफ्नै बसमार्फत सेवा सञ्चालन गर्नेछ।
हाल सञ्चालनको मोडालिटी तयार पार्ने काम भइरहेको छ। बजेटको औपचारिक स्वीकृति तथा नेपाल सरकार र साझा यातायातबीच समझदारी (एमओयू) भएपछि मात्रै सेवा सञ्चालन हुनेछ। साउनभित्रै सेवा सुरु हुने सम्भावना प्रबल छ।
ट्रान्सजेन्डर यात्रुको विषय मात्र नभई महिलासँग आउने अन्य यात्रुको अवस्थाबारे पनि स्पष्ट व्यवस्था आवश्यक रहेको अर्यालले औंल्याए। महिलासँग श्रीमान्, पाँच-सात वर्षको छोरा वा सहाराका लागि वृद्ध आमासँग छोरा आएका अवस्थामा के गर्ने भन्नेजस्ता व्यवहारिक प्रश्नहरू पनि उठेका छन्।
साझा यातायातले यस्ता सबै अवस्थालाई समेटेर व्यवहारिक कार्यविधि तयार गर्ने योजना छ। ट्रान्सजेन्डर यात्रुको हकमा कानुनी पहिचानलाई आधार बनाउन सकिने अर्यालले सुझाए।
‘यदि सम्बन्धित व्यक्तिसँग कानुनी रूपमा प्रमाणित परिचयपत्र वा कागजात छन् भने त्यसलाई आधार बनाउन सकिन्छ,’ उनले भने, ‘यो विषय समयमै उठेको छ, त्यसैले कार्यविधिमै समेटेर समाधान खोज्ने प्रयास गर्छौं।’
कार्यविधि निर्माणका क्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसहित सरोकारवाला पक्षबाट आएका सुझावलाई पनि समेटिने अर्यालले प्रतिबद्धता जनाए। सबै गुनासा र सुझावलाई समेटेर व्यवहारिक तथा समावेशी कार्यविधि बनाउनेतर्फ साझा यातायात अघि बढिरहेको छ।
सरकारसँगको आवश्यक समझदारीपत्रमा हस्ताक्षर भएपछि अन्तिम कार्यविधि सार्वजनिक गरिनेछ। त्यसपछि मात्रै ब्लु बस सेवा सञ्चालनमा ल्याइनेछ।
