क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको नेपालमा चरम अभाव देखिएको छ। यसले गर्दा देशभरका क्यान्सर रोगीहरूको उपचार प्रभावित भएको छ भने उनीहरूको ज्यान जोखिममा परेको छ। चिकित्सकहरूले यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य संकटको रूपमा चित्रण गरेका छन्।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार यो समस्या विश्वव्यापी भए पनि नेपालमा औषधि व्यवस्था विभागले प्रभावकारी कदम नचाल्दा अवस्था जटिल बनेको छ। छिमेकी भारतमा समेत यो औषधि पाउन मुस्किल छ। नेपालमा यसको व्यवस्थापनका लागि विभागलाई पत्राचार गरे पनि कुनै पहल नभएको डा. चालिसेले बताए।
वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. रमिला शिल्पकार डंगोलले यो अभावले निको हुनसक्ने अवस्थाका बिरामीहरू पनि उपचारबाट वञ्चित हुनुपरेको दुखेसो गरिन्। उनले यसलाई ‘जीवन र मृत्युको प्रश्न’ भन्दै आपूर्ति समस्या मात्र नभएको स्पष्ट पारिन्। पाटन अस्पतालका चिकित्सक अरुण शाहीले समेत बिरामीको ज्यान जोखिममा परेको भन्दै यसलाई आकस्मिक अवस्था मानेर तत्काल औषधि उपलब्ध गराउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरे।
पाटन अस्पतालमा दुई सातादेखि औषधि अभाव छ, जसले गर्दा ४० प्रतिशत बिरामीको उपचार रोकिएको छ। वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा पनि यही अवस्था छ। भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ४०-५० बिरामीलाई यो औषधिको आवश्यकता पर्छ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले विश्व बजारमा औषधिको मूल्य बढेको तर नेपालमा मूल्य समायोजन नहुँदा आयातमा समस्या भएको स्वीकार गरे।
यसैबीच, नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अविरल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसद्मै यो औषधि अभावको विषय उठाएकी छिन्। उनीहरूले औषधि नपाएर बिरामीहरू उपचारविहीन भइ फर्किनुपरेको अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
कार्बोप्लाटिन र सिस्प्लाटिन क्यान्सर कोष नष्ट गर्न र रोगको फैलावट रोक्न प्रयोग हुने महत्वपूर्ण औषधि हुन्। यी फोक्सो, डिम्बाशय, पाठेघर, स्तन, टाउको-घाँटी, मुत्रथैलीलगायत विभिन्न क्यान्सरको उपचारमा नियमित प्रयोग गरिन्छ। विश्व बजारमा पनि यो औषधिको उत्पादन सीमित कम्पनीले गर्ने भएकाले आपूर्तिमा समस्या देखिएको छ।
