NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रोपाइँमा मल अभाव हुँदैन: असारसम्म ६ लाख मेट्रिकटन वितरणको लक्ष्य – मन्त्री चौधरी

कृषि मन्त्री गीता चौधरीले धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव हुन नदिने सरकारको विशेष पहल रहेको बताइन्। असार मसान्तसम्म ६ लाख मेट्रिकटन मल वितरणको लक्ष्य छ, जुन अहिलेसम्मकै उच्च आपूर्ति परिमाण हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 May 2026, 1:02 pm १ मिनेट पढाइ
आकार:
Share:

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव हुन नदिने गरी सरकारले विशेष पहल गरिरहेको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिकटन रासायनिक मल आपूर्ति भइसकेको जानकारी दिइन् ।

उनका अनुसार हालसम्म ४ लाख ६३ हजार १०७ मेट्रिकटन मल किसानलाई बिक्री भइसकेको छ । गोदाममा मौज्दात र नेपाल भित्रिएर इन्ट्री हुन बाँकी मलसहित हाल १ लाख ४४ हजार ५८५ मेट्रिकटन मल उपलब्ध रहेको उनले बताइन् ।

मन्त्री चौधरीले असार मसान्तसम्म करिब ६ लाख मेट्रिकटन मल किसानलाई उपलब्ध गराइने दाबी गरिन्, जुन अहिलेसम्मकै उच्च आपूर्ति परिमाण भएको उनको भनाइ छ ।

मध्यपूर्वमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मल उत्पादन र आपूर्तिमा समस्या आएको तथा मूल्यसमेत बढेको मन्त्री चौधरीले उल्लेख गरिन् । यही कारण चालु र आगामी आर्थिक वर्षका लागि सम्झौता भइसकेको १ लाख ८७ हजार मेट्रिकटन मल अझै नेपाल आउन नसकेको उनले बताइन् ।

तर, धान रोपाइँ नजिकिएकाले मल अभाव हुन नदिन मन्त्रालयले आपूर्तिकर्तालाई समयमै मल ल्याउन ताकेता गरिरहेको पनि मन्त्री चौधरीले जानकारी दिइन् ।

उनले भारत सरकारसँग जीटुजी प्रणालीमार्फत थप ५० हजार मेट्रिकटन मल खरिद गर्न मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको र खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

अनुदानको मल वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०८२’ कार्यान्वयनमा ल्याइएको छ । साथै, मलको कोटा वितरण, स्टक अवस्था र किसानले पाउने विवरणसमेत सबैले हेर्न मिल्ने गरी ‘मल व्यवस्थापन सूचना प्रणाली’ सञ्चालनमा ल्याइएको मन्त्री चौधरीले जानकारी दिइन् ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार