कृषि मन्त्री गीता चौधरीले रासायनिक मल अभाव टार्न मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताइन्
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानले समयमै रासायनिक मल पाऊन् भन्ने उद्देश्यका साथ मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताइन्।
मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको जानकारी दिइन्।
किसानले रासायनिक मलको अभाव झेल्नु नपरोस् भनेर मन्त्रालयले विभिन्न विकल्पमा काम गरिरहेको उनको भनाइ थियो।
मन्त्री चौधरीले धान रोपाईंको मुख्य समय नजिकिँदै गर्दा रासायनिक मलको सहज उपलब्धता सुनिश्चित गर्न आवश्यक पहल भइरहेको र यसका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको जानकारी दिइन्।
