मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन्। यस प्राकृतिक विपत्तिमा परी एक जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
स्थानीय प्रशासनका अनुसार सोमबार राति ७ देखि ११ बजेको समयमा हुबेईको पूर्वी क्षेत्र-विशेषगरी हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङलगायतका सहरहरूमा मेघगर्जनसहितको शक्तिशाली हावाहुरी चलेको थियो। केही स्थानमा हावाको गति ‘लेभल १३’ सम्म पुगेको र चक्रवात समेत आएको जनाइएको छ।
यस भीषण हावाहुरीले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। अधिकारीहरूका अनुसार आँधीका कारण २२ वटा भवन पूर्ण रूपमा भत्किएका छन् भने ४ हजार ८ सय ५५ वटा अन्य घर तथा संरचनाहरूमा क्षति पुगेको छ।
घटनालगत्तै प्रान्तीय सरकारले प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। घाइतेहरूको उपचारका साथै सम्भावित थप जोखिम न्यूनीकरण र विपद व्यवस्थापन तथा राहत वितरणको कामलाई तीव्र पारिएको प्रान्तीय अधिकारीहरूले जानकारी दिएका छन्।
