अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत बाँकेको चिसापानी र बर्दियाको बबई जोड्ने सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययन अघि बढाउने घोषणा गरेका छन्। यो घोषणाले दशकौँदेखि घुमाउरा सडक, जोखिमपूर्ण मोड र बर्सेनि दोहोरिने पहिरोको सास्ती झेल्दै आएका कर्णालीवासीका लागि नयाँ आशा जगाएको छ।
हाल चिसापानी–बबई सडक खण्ड कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार हो। करिब ३३.२ किलोमिटर लामो यो पहाडी खण्डमा तीव्र घुम्ती, साँघुरा मोड र पहिरोको उच्च जोखिमले यात्रुहरूले सधैँ कठिन यात्रा गर्न बाध्य छन्। सामान्य अवस्थामा पनि एक घण्टाभन्दा बढी लाग्ने यो दूरी वर्षायाममा सानो वर्षाले समेत अवरुद्ध भई घण्टौँसम्म यातायात रोकिँदा आपूर्ति र आर्थिक गतिविधिमा असर पार्ने गरेको छ।
प्रस्तावित चिसापानी–बबई सुरुङमार्गले हालको घुमाउरो सडकको दूरी उल्लेखनीयरूपमा घटाउनेछ। यात्रा समय छोट्याउनुका साथै जोखिमपूर्ण मोड र पहिरो प्रभावित क्षेत्रलाई बाइपास गर्ने अपेक्षा छ। यसले यात्रालाई सुरक्षित, सहज र भरपर्दो बनाउनेछ। यातायात तथा पूर्वाधार क्षेत्रका जानकारहरूका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि इन्धन खर्च, सवारीसाधनको मर्मत लागत र ढुवानी खर्चसमेत उल्लेखनीयरूपमा घट्नेछ।
यसको प्रत्यक्ष लाभ कर्णालीका किसान, व्यवसायी र उपभोक्ताले पाउनेछन्। कर्णालीमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तुहरू बजारसम्म छिटो र कम लागतमा पुग्ने भएकाले स्थानीय अर्थतन्त्रले नयाँ ऊर्जा पाउनेछ। सहज पहुँचले पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने र कर्णालीका प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूमा पर्यटकको आवागमन बढ्ने विश्वास छ। स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधिहरूले यसलाई कर्णालीको ‘गेम चेन्जर’ परियोजनाका रूपमा लिएका छन्।
यसका साथै, सरकारले कोहलपुर–गड्डाचौकी सडक खण्डको स्तरोन्नति सम्बन्धी अध्ययन गर्ने घोषणा पनि गरेको छ। करिब २०६ किलोमिटर लामो यो सडक खण्डलाई अझ व्यवस्थित, फराकिलो र सुरक्षित बनाउने उद्देश्यसहित अध्ययन अघि बढाइनेछ। हालको दुई लेन संरचनामा रहेका प्राविधिक समस्या, साँघुरा भाग तथा यातायात चापलाई मध्यनजर गर्दै विस्तृत अध्ययन गरिनेछ। यो सडक लुम्बिनी प्रदेशलाई सुदूरपश्चिम प्रदेशसँग जोड्ने महत्वपूर्ण राजमार्ग हो। स्तरोन्नतिपछि यो सडक खण्ड अझ फराकिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ, जसले लुम्बिनी र सुदूरपश्चिमबीचको आर्थिक सम्बन्ध अझ मजबुत बनाउनेछ।
