कङ्गोको विद्रोही नियन्त्रित क्षेत्रमा इबोलाको ‘बुन्दिबुग्यो’ प्रजातिको घातक प्रकोप फैलिएको छ, जसले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) र युगान्डामा ८८ जनाको ज्यान लिएको छ।
प्रकोप विस्तार भएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यसलाई सार्वजनिक सरोकारको अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको छ। डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यो अहिले नै विश्वव्यापी महामारीको तहमा नपुगेको स्पष्ट पारेका छन्।
उनले कङ्गो र युगान्डाका सीमावर्ती क्षेत्रहरू तथा वरपरका छिमेकी मुलुकहरूमा यो घातक भाइरस थप फैलने उच्च जोखिम रहेको भन्दै गम्भीर चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरूका अनुसार वर्तमान प्रकोप इबोलाको एक अत्यन्तै दुर्लभ र खतरनाक प्रजाति ‘बुन्दिबुग्यो भाइरस डिजिज’ (बीवीडी) का कारण फैलिएको हो। यो प्रजातिको इबोलाको उपचारका लागि हालसम्म कुनै पनि प्रमाणित औषधि वा खोप उपलब्ध छैन।
कङ्गो र युगान्डाको इतिहासमा २० पटकभन्दा बढी इबोलाका प्रकोपहरू देखिएका भए तापनि यो दुर्लभ किसिमको ‘बुन्दिबुग्यो’ भाइरस फेला परेको यो केवल तेस्रो पटक मात्र हो।
प्रारम्भिक नमूना परीक्षणमा उच्च पोजेटिभ दर देखिएको छ। दैनिक बढ्दो शंकास्पद बिरामी संख्याले प्रकोप सार्वजनिक तथ्याङ्कभन्दा भयावह हुनसक्ने आशंका बढाएको छ।
अहिलेसम्म संकलन गरिएको विवरण अनुसार, युगान्डामा पुष्टि भएका दुईवटा घटनाबाहेक अन्य सबै संक्रमितहरू कङ्गोमा फेला परेका छन्। स्वास्थ्य अधिकारीहरूले सबैभन्दा पहिले कङ्गोको पूर्वी इटुरी प्रान्तमा यस भाइरसको संक्रमण फेला पारेका थिए।
यो क्षेत्र युगान्डा र दक्षिण सुडानको सिमाना नजिक पर्दछ। पूर्वी कङ्गोको प्रमुख व्यापारिक सहर गोमामा पनि प्रयोगशाला परीक्षणबाट एक जनामा संक्रमण पुष्टि भएको छ, जुन विद्रोही समूह एम२३ को नियन्त्रणमा छ।
कङ्गोको राष्ट्रिय जैविक चिकित्सा अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन-ज्याक मुयेम्बेका अनुसार गोमामा संक्रमित पाइएकी महिला बुनिया सहरमा इबोलाबाट ज्यान गुमाएका एक व्यक्तिकी श्रीमती हुन्। उनी श्रीमानको मृत्युपछि संक्रमित अवस्थामै गोमा सहर पुगेकी थिइन्।
युगान्डाले पनि कङ्गोबाट भित्रिएको एक संक्रमणको घटना पुष्टि गरेको छ, जसको राजधानी काम्पालाको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ। डब्लुएचओले काम्पालामा दोस्रो संक्रमणको पनि पुष्टि गरेको छ, यद्यपि ती दुई बिरामीहरू असम्बन्धित छन्।
युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले देशको स्थिति पूर्ण नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई नआत्तिन अपिल गर्नुभएको छ। कङ्गोसँगको सिमाना पूर्ण रूपमा बन्द नगरिएको भए तापनि सीमा नाकाहरूमा सुरक्षा र स्वास्थ्य जाँचलाई अत्यन्तै तीव्र बनाइएको छ।
डब्लुएचओले छिमेकी मुलुकहरूलाई आफ्नो राष्ट्रिय विपद् तथा संकट व्यवस्थापन संयन्त्रलाई तुरुन्त सक्रिय बनाउन सल्लाह दिएको छ। यसका साथै मुख्य आन्तरिक सडकहरू र सीमा नाकाहरूमा क्रस-बर्डर स्क्रिनिङ कडा गर्न भनिएको छ।
संक्रमण पुष्टि भएका बिरामीहरूलाई ढिलो नगरी तुरुन्तै आइसोलेसनमा राख्न र भाइरसको सम्पर्कमा आएका व्यक्तिहरूलाई कम्तीमा २१ दिनसम्म कुनै पनि अन्तर्राष्ट्रिय यात्रा गर्न नदिन निर्देशन दिइएको छ।
यद्यपि, स्वास्थ्य संगठनले प्रभावित मुलुकहरुलाई आफ्नो अन्तर्राष्ट्रिय सिमाना पूर्ण रूपमा बन्द नगर्न वा व्यापारमा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ। सिमाना बन्द गर्दा मानिसहरू र सामानहरू अनधिकृत एवं लुकिछिपी सीमा पार गर्ने सम्भावना बढ्ने र भाइरसलाई झन् अनियन्त्रित रूपमा फैलाउने खतरा निम्त्याउने तर्क गरिएको छ।
