संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा विशेष समारोह आयोजना गरे। समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भए।
राष्ट्रपति पौडेलले संविधानलाई केवल दस्तावेजमा सीमित नराखी नागरिकको जीवनमा अनुभूत हुने गरी लागू गर्नुपर्नेमा जोड दिए। लोकतन्त्रमा नागरिक सर्वोच्चता सर्वोपरि हुने भन्दै उनले संविधानले परिकल्पना गरेको न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराए।
यस वर्षको संविधान दिवस मनाइरहँदा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरे। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।
नेपाली जनताको सात दशकभन्दा बढीको आन्दोलन, त्याग र बलिदानबाट प्राप्त संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला भएको स्मरण गरे। संविधानले जनतालाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान दिएको उल्लेख गरे। प्रदेशहरूको स्थापना, एकात्मक शासन प्रणालीको अन्त्य र बहुलवादमा आधारित समावेशी नेपालको निर्माणलाई प्रमुख उपलब्धिका रूपमा चर्चा गरे। संविधानमा लेखिएका कुराहरूलाई व्यवहारमा उतार्न अझै चुनौती रहेको उनले औंल्याए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक निकायका पदाधिकारी तथा विभिन्न राजनीतिक दलका अध्यक्ष एवं सभापतिहरू सहभागी थिए। विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।
समारोहका क्रममा प्रधानमन्त्री शाह विभिन्न विदेशी नियोगका प्रतिनिधिहरूसँग भेटघाट र शुभकामना आदानप्रदानमा व्यस्त देखिए। राष्ट्रपति पौडेल, उपराष्ट्रपति यादव, प्रधानन्यायाधीश शर्मा, सभामुख अर्याल लगायतसँग पनि प्रधानमन्त्री शाहले शुभकामना आदानप्रदान गरे। विदेशी कूटनीतिक प्रतिनिधिहरूसँग प्रधानमन्त्री शाहले केहीबेर कुराकानी पनि गरे।
यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोह काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको थियो। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएका थिए।
