नेकपा (एमाले)का केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिइएको छ। आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी केन्द्रीय सदस्यहरूलाई स्थानीय तहकेन्द्रित र जनसंगठनको इञ्चार्जको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमाथि आएका सुझावलाई महासचिव पोखरेलले अध्यक्षको परामर्शमा परिमार्जन गर्नेछन्। त्यसपछि अध्यक्ष ओलीले अन्तिमरूप दिई सर्कुलर जारी गर्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए। तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले पार्टीमा एकता कायम राख्न आग्रह गरेका थिए।
बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षासहितका विषयमा थप अध्ययन गर्न उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदलले एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेछ।
कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव भट्ट, सचिवहरू छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठ प्रदेशका इञ्चार्ज सदस्य रहनेछन्।
विसं २०७२ को भूकम्पले पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा कार्यालय सञ्चालन गरिरहेको एमालेले मदननगर बल्खुस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीको बैठक आगामी असार दोस्रो साता बस्ने तय भएको छ।
