नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। यस वर्गीकरणमा ३८ पुरुष र २५ महिला खेलाडी समेटिएका छन्।
पुरुषतर्फ कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ‘ए प्लस’ श्रेणीमा परेका छन्। यो क्यानले प्रदान गर्ने सबैभन्दा उच्च श्रेणी हो। यस श्रेणीका खेलाडीले मासिक १ लाख २० हजार रूपैयाँ तलब पाउनेछन्।
‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी छन्। उनीहरूले मासिक १ लाख रूपैयाँ तलब पाउनेछन्। ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्शन झा परेका छन्। यस श्रेणीका खेलाडीको मासिक तलब ७५ हजार रूपैयाँ तोकिएको छ। ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह छन्। उनीहरूले ५५ हजार रूपैयाँ मासिक तलब पाउनेछन्।
डेभलपमेन्ट श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतीस जिसी र सागर ढकाल परेका छन्। यी खेलाडीले मासिक ३५ हजार रूपैयाँ तलब पाउनेछन्।
महिला खेलाडीतर्फ ‘ए’ श्रेणीमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर समावेश छन्। उनीहरूले मासिक ५५ हजार रूपैयाँ तलब पाउनेछन्। ‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय रहेका छन्। उनीहरूले ४० हजार रूपैयाँ मासिक तलब पाउनेछन्। ‘सी’ श्रेणीमा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा परेका छन्। यस श्रेणीको मासिक तलब ३० हजार रूपैयाँ छ।
महिला डेभलपमेन्ट श्रेणीमा रोमा थापा, सुमन बिष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा बिष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचनाकुमारी चौधरी रहेका छन्। यी खेलाडीले २५ हजार रूपैयाँ मासिक तलब पाउनेछन्।
यसअघि पुरुष खेलाडीहरूका लागि ‘ए’ श्रेणीमा १ लाख, ‘बी’मा ७० हजार, ‘सी’मा ५५ हजार, डोमेस्टिकमा ३५ हजार र इमर्जिङमा २५ हजार रूपैयाँ तलब थियो। महिलातर्फ ‘ए’ श्रेणीलाई ५०, ‘बी’लाई ३५, ‘सी’लाई २५ र ‘डी’लाई २० हजार रूपैयाँ मासिक तलब दिइँदै आएको थियो।
नयाँ वर्गीकरणसँगै खेलाडीहरूको पारिश्रमिकमा वृद्धि भएको छ। पुरुष तथा महिला दुवै टोलीका खेलाडीले टी–२० अन्तर्राष्ट्रियतर्फ प्रतिखेल १० हजार रूपैयाँ र एकदिवसीय अन्तर्राष्ट्रियतर्फ प्रतिखेल १५ हजार रूपैयाँ म्याच फी प्राप्त गर्नेछन्।
