राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाए।
राणाका अनुसार नयाँ दलको सिद्धान्त ‘राजासहितको प्रजातन्त्र’ र हिन्दू राष्ट्र रहनेछ। उनले राष्ट्रवादी विचारधारालाई सशक्त बनाउने उद्देश्यले नयाँ राजनीतिक अभियान सुरु गर्न लागेको बताए।
उनले राप्रपा नेतृत्वले आन्तरिक लोकतन्त्रलाई कमजोर पारेको र समयमै महाधिवेशन नगराएको आरोप लगाए। नेतृत्वलाई सचेत गराउँदा पनि परिवर्तन नदेखिएपछि नयाँ विकल्प रोज्न बाध्य भएको उनको भनाइ थियो।
राणाले पछिल्ला निर्वाचनमा पार्टीको घट्दो प्रभाव र आगामी चुनावको चुनौतीपूर्ण अवस्थाले नयाँ राजनीतिक शक्ति आवश्यक भएको उल्लेख गरे।
नयाँ पार्टीले युवा तथा महिला नेतृत्वलाई प्राथमिकता दिनेछ। सुशासन र रोजगारीका मुद्दालाई केन्द्रमा राख्नेछ। विभिन्न राजावादी, राष्ट्रवादी र हिन्दूवादी समूह तथा व्यक्तित्वलाई एकताबद्ध गरेर बलियो राष्ट्रवादी मोर्चा निर्माण गर्ने लक्ष्य छ।
यस अभियानमा दुर्गा प्रसाईंसहित समान विचारधारा भएका शक्तिहरूलाई समेट्ने योजना छ।
