NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चिकित्सक लाइसेन्स परीक्षा: स्वदेशी कलेजका विद्यार्थी अब्बल, विदेशीको नतिजा खस्कियो

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा स्वदेशी कलेजका विद्यार्थी ७६.७९% उत्तीर्ण भएका छन्। रुस, युक्रेन, इजिप्ट, किर्गिस्तान, भारत, चीन, बङ्गलादेश र फिलिपिन्सबाट अध्ययन गरी फर्किएका विद्यार्थीको उत्तीर्ण प्रतिशत निराशाजनक छ, कतिपय देशका कोही पनि उत्तीर्ण भएनन्। चितवन मेडिकल कलेज एमबिबिएसतर्फ ९३.१०% नतिजासहित उत्कृष्ट भएको छ भने गण्डकी मेडिकल कलेज बिडिएसतर्फ शतप्रतिशत उत्तीर्ण भएको छ।
Sarita Pandey
Sarita Pandey
4 June 2026, 3:47 pm १ मिनेट पढाइ
आकार:
चिकित्सक लाइसेन्स परीक्षा
Share:

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजबाट उत्पादित विद्यार्थीको शैक्षिक गुणस्तर अब्बल रहेको देखाएको छ। यस पटकको परीक्षामा समग्रमा ६६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने स्वदेशी कलेजका विद्यार्थी ७६.७९ प्रतिशत उत्तीर्ण हुन सफल भएका छन्।

जेठ १२ देखि १५ गतेसम्म सञ्चालन भएको ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा दुई हजार २६३ परीक्षार्थी सहभागी भएकामा एक हजार ५१५ उत्तीर्ण भएका छन्। स्वदेशका मेडिकल कलेजबाट एमबिबिएसतर्फ सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६.७९ प्रतिशत उत्तीर्ण भएका छन्।

यसैगरी, स्वदेशी मेडिकल कलेजमा बिडिएस (डेन्टल) अध्ययन गरेका ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५.७५ प्रतिशत उत्तीर्ण भएका छन्।

विभिन्न देशमा अध्ययन गरी फर्किएका नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत भने औसतभन्दा निकै कम देखिएको छ। भारतमा अध्ययन गरेका नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत ४२.३१ प्रतिशत र चीनमा अध्ययन गरेकाको १५.०४ प्रतिशत मात्र रहेको छ। बङ्गलादेशमा ४१.१४ प्रतिशत, फिलिपिन्समा २८.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरी आएका नेपाली विद्यार्थीको नतिजा सबैभन्दा निराशाजनक देखिएको छ। यी देशहरूबाट परीक्षा दिएका कोही पनि उत्तीर्ण हुन सकेका छैनन्। भारतबाट बिडिएस तह अध्ययन गरी फर्केका १७ नेपाली विद्यार्थीमध्ये एक जनामात्र उत्तीर्ण भएका छन्।

यसवर्ष एमबिबिएसतर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) ९३.१० प्रतिशत नतिजासहित उत्कृष्ट भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर तेस्रो स्थानमा रहेका छन्। बिडिएसतर्फ गण्डकी मेडिकल कलेजबाट उत्पादित विद्यार्थी सबै उत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर हुनुको प्रमुख कारण भाषागत समस्या र पाठ्यक्रमको भिन्नता रहेको बताए। उनले कम्प्युटर प्रविधि (सिबिटी) मार्फत मर्यादित, पारदर्शी र व्यवस्थित ढङ्गले सञ्चालन गरिएको परीक्षाको नतिजाले वास्तविक अवस्था उजागर गरेको बताए।

डा पाण्डेले एउटै परीक्षाको नतिजाका आधारमा स्वदेशी शिक्षा उत्कृष्ट र विदेशी शिक्षा कमजोर भनेर निष्कर्ष निकाल्न नमिल्ने बताए। काउन्सिलले चिकित्सा क्षेत्रजस्तो संवेदनशील शैक्षिक कार्यक्रमसँग जोडिएको लाइसेन्स परीक्षाको नतिजाका विषयमा सुक्ष्म समीक्षा गरी समस्या समाधान गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ।

नेपाल मेडिकल काउन्सिलले आगामी ६ महिनाभित्र अर्को चिकित्सक लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ। यस परीक्षाको नतिजाले विदेशी शिक्षण संस्थाबाट अध्ययन गरी फर्कने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशतमा सुधार आउँछ वा आउँदैन भन्ने कुराले थप प्रस्ट हुनेछ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार