NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चिकित्सकद्वारा माइतीघरमा प्रदर्शन: १२ घण्टा ड्युटी र समान तलबको माग

प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले ७ बुँदे मागसहित माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूको मुख्य मागहरूमा प्रति दिन १२ घण्टा ड्युटी, सातामा एक दिन बिदा, र तलब वृद्धि समावेश छन्। चिकित्सकहरूले महिला स्वास्थ्यकर्मीलाई प्रसूति बिदा र ईन्टर्न चिकित्सकलाई अधिकृत छैठौं तह सरह तलबको माग गरेका छन्।
Rohan Tamang
Rohan Tamang
13 June 2026, 12:18 pm १ मिनेट पढाइ
आकार:
चिकित्सकको प्रदर्शन
Share:

काठमाडौँ । प्रशिक्षार्थी र युवा चिकित्सकहरूले १२ घण्टा ड्युटी, सातामा एक दिन बिदा र समान तलबको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । नेपालको श्रम ऐन २०७४ अनुसार प्रशिक्षार्थी चिकित्सकको ड्युटी प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी नहुनुपर्ने उनीहरूको मुख्य माग छ ।

सातामा ४८ घण्टाभन्दा बढी काम गरेमा श्रम ऐनबमोजिम अतिरिक्त भत्ताको व्यवस्था हुनुपर्ने माग छ । सम्पूर्ण प्रशिक्षार्थी महिला चिकित्सकलाई कानुनबमोजिम तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउनुपर्ने र उक्त बिदाको अवधिमा अध्ययन तथा प्रशिक्षणमा बाधा नपुर्याई निरन्तरता दिन पाउनुपर्ने माग गरिएको छ ।

सबै महिला स्वास्थ्यकर्मीलाई समेत स्थायी कर्मचारीसरह प्रसूति बिदा दिनुपर्ने उनीहरूको माग छ । सरकारले २०८३/८४ को बजेट भाषणमा वृद्धि गरेको तलब अनुरूप आवासीय चिकित्सकलाई साउन महिनादेखि नै बढेको तलबसहित अधिकृत आठौं तहको तलब उपलब्ध गराउनुपर्ने बताइएको छ ।

एमबिबीएस/बिडिएस अध्ययन पूरा गरी नेपाल मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता गरेका ईन्टर्न चिकित्सकलाई कम्तीमा नेपाल सरकारको अधिकृत छैठौं तह सरह तलब दिनुपर्ने माग छ ।

प्रशिक्षार्थी चिकित्सकहरूको श्रम तथा अन्य शोषण भए-नभएको गुनासो सुन्न र अनुगमन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने माग गरिएको छ । प्रत्येक मेडिकल कलेजमा मानसिक विभागको रोहवरमा प्रशिक्षार्थी चिकित्सकको मानसिक स्वास्थ्य प्रवर्धनका लागि समिति गठन गर्नुपर्ने बताइएको छ ।

विशेष कारणवश पढाई बीचमा नै छोड्नु परेमा आवासीय चिकित्सकलाई हाल कायम राखिएको उच्च जरिवाना घटाउनुपर्ने माग छ । उक्त सिट खेर जान नदिन अर्को वर्षको प्रथम वर्षको सिट संख्यामा थपेर समायोजन गर्नुपर्ने बताइएको छ ।

एमबिबीएस/बिडिएस पछि एमडी/एमएस/एमडीएस अध्ययन गर्न राखिएको १ वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनुपर्ने माग छ । यो प्रावधानले नव-चिकित्सकहरूलाई जस्तो सुकै अवस्थामा काम गर्न बाध्य बनाएकाले चिकित्सा शिक्षा ऐनको यथाशीघ्र संशोधन गरी खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार