अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्। यस वर्ष नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान छ। यो वृद्धि विश्व अर्थतन्त्रको ३.१ प्रतिशतको प्रक्षेपणभन्दा माथि हो।
सर्वेक्षण अनुसार, मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब पुग्नेछ। नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। वागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहनेछ। वागमती प्रदेशले कुल ग्राहस्थ उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याउनेछ।
कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर-कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ। प्रमुख खाद्यान्न बाली धानको उत्पादन ४.२० प्रतिशतले संकुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित हुनेछ।
चालु आर्थिक वर्षको फागुन सम्ममा संघीय राजश्व ३.२ प्रतिशतले वृद्धि भएको छ। सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा सुधार हुन सकेको छैन। सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल ग्राहस्थ उत्पादनको ४३.६ प्रतिशत हो। यस वर्ष सरकारले ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ।
देशको बाह्य क्षेत्र बलियो देखिएको छ। विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ। यसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु चुनौती हो।
प्रविधिमैत्री भुक्तानीमा प्रगति भएको छ। फागुन महिनासम्म क्यूआर कोडमार्फत कारोबार १ खर्ब २५ अर्ब नाघेको छ। सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘BB–’ स्टेबल आउटलुक प्राप्त गरेको छ। मुद्रास्फीति (महँगी) औसत २.१३ प्रतिशतमा नियन्त्रणमै छ।
मानव विकास सूचकांक ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ। मातृ मृत्युदर प्रति लाख १५१ र ५ वर्ष मुनिको बाल मृत्युदर प्रति हजार ३३ मा झरेको छ। आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ।
