ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले आफू निर्दोष रहेको इन्कारी बयान दिएकी छिन्। पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि प्रहरीले डा. शर्मासँग बयान लिएको हो।
गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको बयानमा डा. शर्माले आफू यस प्रकरणमा संलग्न नरहेको र कुनै कानुनविपरीतको काम नगरेको दाबी गरिन्। बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनलाई रिहा गरिएको थियो।
यसअघि डा. शर्मालाई पक्राउ गर्न प्रहरीले दुई पटक अनुमति माग्दा समेत अनुमति नमिलेको स्रोतले जनाएको छ।
यसै प्रकरणमा प्रहरीले लमजुङ घर भई ललितपुरको इमाडोल बस्ने २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरेको थियो। गोतामेलाई पनि सरकारी वकिलको निर्देशनमा हाजिरी जमानीमा रिहा गरिएको छ।
प्रहरी अनुसन्धानका क्रममा गोतामेको मोबाइलबाट डा. शर्मा र पीडित किशोरीबीच भएको आर्थिक कारोबारसम्बन्धी विवरण फेला परेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, गत डिसेम्बर २०२५ मा डा. शर्माले मोबाइल बैंकिङमार्फत गोतामेलाई दुई पटक गरी कुल एक लाख रुपैयाँ पठाएको देखिएको छ।
पीडित किशोरीले प्रहरीलाई दिएको बयानमा आफ्नै साथीले ‘डिम्ब निकाले केही हुँदैन, पैसा पनि पाइन्छ’ भन्दै प्रलोभनमा पारेको बताएकी थिइन्। त्यसपछि उनलाई राधिका गोतामेको सम्पर्कमा पुर्याइएको र गोतामेमार्फत बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगिएको थियो।
