एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई
काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई सुम्पिएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। बैठकले प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गर्यो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति थियो।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा निर्धारणमा आधार तयार गर्नेछ। प्रतिवेदन अन्तिम भएपछि पार्टी नेतृत्वसमक्ष पेश गरिनेछ।
निर्वाचनपछिको समीक्षा, पार्टीको पुनर्ताजगीकरण तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले देशव्यापी रूपमा नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसङ्गठनका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग छलफल गरेको थियो। अभियानमा प्राप्त सुझावहरू पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण, नेतृत्व विकास, कार्यशैली सुधार र जनतासँगको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित रहेका छन्।
बैठकले सुझाव संकलन कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रदेश, जिल्ला तथा पार्टी कमिटीहरूलाई धन्यवाद ज्ञापन गर्यो। अभियानमा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव दिने नेता–कार्यकर्ता, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरियो।
कार्यदलले देशभरबाट प्राप्त सुझावहरू पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि आधार बन्ने विश्वास व्यक्त गरेको छ। प्रतिवेदन अन्तिम भएपछि पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ।
कार्यदलले प्रतिवेदन लेखनको काम आगामी दुई साताभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। सो प्रतिवेदन पार्टीको केन्द्रीय कमिटीमा पेश गरिनेछ। केन्द्रीय कमिटीबाट अन्तिम स्वीकृतिपछि कार्यान्वयन प्रक्रिया सुरु हुनेछ।
