काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मङ्गलबार उक्त फैसला सुनाएको हो।
मुद्दाका ३० प्रतिवादीमध्ये ७ जनाले भने सफाइ पाएका छन्। सफाइ पाउनेहरूमा पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा, रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्। उनीहरूविरुद्ध कसुर पुष्टि हुने पर्याप्त तथ्यगत आधार नदेखिएको अदालतको ठहर छ।
दोषी ठहरिएकाहरूको सजाय निर्धारणका लागि अदालतले असार २९ गतेको पेसी तोकेको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुरदार ठहरिएका प्रतिवादीहरूलाई सजाय निर्धारणका लागि छुट्टै प्रतिवेदनसहित पुनः सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ।
सरकारी वकिल कार्यालय काठमाडौंले २०८० जेठ १० गते नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर गरेको थियो। यस प्रकरणमा राष्ट्रहित विपरीतको कार्य, सङ्गठित अपराध, ठगी, सरकारी लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा चलाइएको थियो।
अदालतले बालकृष्ण खाँणलाई नीतिगत निर्णयको त्रुटि र अनधिकृत संवादका आधारमा संगठित ठगी र संगठित अपराधको कसुरमा ‘मतियार’ ठहर गरेको छ। पूर्वगृहसचिव पाण्डे र पूर्वगृहमन्त्री खाँणसहित अधिकांशले सरकारी लिखत किर्तेतर्फ सफाइ पाएका छन्। किर्तेको कसुरमा शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारी मात्र दोषी ठहर भएका छन्।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई बैंक खातामा रकम जम्मा भएको देखिए पनि पुरानो व्यापारिक कारोबारसँग सम्बन्धित भन्दै सफाइ दिइएको छ। त्यसैगरी, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापालाई पनि जाहेरवालाको बकपत्र र वस्तुनिष्ठ प्रमाणको अभावमा सफाइ दिइएको छ।
लामो समयदेखि फरार रहेका ८ प्रतिवादीको मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९८ बमोजिम मुलतवीमा राखिएको छ।
