परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई नक्कली राहदानी प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार काठमाडौंको कागेश्वरी मनहरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराका अनुसार नेपालबाट शरणार्थीलाई नक्कली राहदानीका आधारमा तेस्रो मुलुक पठाउने कार्यमा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
स्रोतका अनुसार भट्टराईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको हो।
अर्को समाचार स्रोतका अनुसार भट्टराईलाई तिब्बती शरणार्थीका नाममा गैरकानुनी रुपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा पक्राउ गरिएको छ।
