विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न शिक्षा मन्त्रालयले नयाँ नियमावली ल्याउने प्रक्रिया अघि बढाएको छ। यसका लागि मस्यौदा तयार गरी अर्थ र कानुन मन्त्रालयमा पठाइएको छ। ती मन्त्रालयको रायपछि मन्त्रिपरिषद्मा पेस गरिनेछ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका बारेमा व्यापक गुनासो आएको बताए। फितलो नियमनका कारण ती कलेजको प्रभावकारी अनुगमन हुन नसकेको उनको भनाइ छ। नयाँ नियमावलीले सम्बन्धन दिने आधार र नियमनको ढाँचा स्पष्ट पार्नेछ।
मन्त्री पोखरेलका अनुसार, हाल तीन नियमावली एकसाथ अघि बढाइएको छ। यसमा शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली छन्। शिक्षा ऐन संसद्को चालु अधिवेशनमा पेस गर्न नसकिएपछि शिक्षा नियमावलीलाई अघि बढाइएको हो।
“फरेन युनिभर्सिटी एफिलिएटेड कलेजहरूको बारेमा धेरै गुनासो आउने गरेको छ। हामीले फाइनल ड्राफ्ट कानुन मन्त्रालयमा पठाइसकेका छौँ,” मन्त्री पोखरेलले भने। अर्थ र कानुन मन्त्रालयबाट टिप्पणीसहितको राय चाँडै प्राप्त हुने र त्यसपछि मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको उनले बताए।
यसैबीच, विद्यालयमा शिक्षक दरबन्दी मिलानका लागि पनि कार्य अघि बढाइएको छ। स्थानीय तहसँगको समन्वयमा दरबन्दी मिलानको कार्य अघि बढाइएको मन्त्री पोखरेलले जानकारी दिए।
