मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

वैदेशिक रोजगार कार्यालय बन्द, श्रमिक उडान रोकिने

सरकार आफ्ना मागप्रति उदासीन रहेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। यससँगै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोकिनेछ। यसअघि श्रम स्वीकृति पाएका श्रमिकको उडान आज राति १२ बजेसम्म मात्र हुनेछ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
म्यानपावर कार्यालय बन्द
Share:
१४९

सरकार आफ्ना मागप्रति उदासीन रहेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। यससँगै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोकिनेछ।

संघले यसअघि चरणबद्ध आन्दोलनका क्रममा पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमा सकिएपछि अब पूर्ण रूपमा काम–कारोबार बन्द गर्न लागिएको हो।

संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार आज राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइनेछ। त्यसपछि भने भिसा र श्रम स्वीकृति आइसकेका श्रमिकको समेत उडान रोकिनेछ।

विज्ञापन

संघका अनुसार सोमबारदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा बन्द रहनेछन्। नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक कामसमेत ठप्प हुनेछन्।

संघले श्रम मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक छलफल गरे पनि व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको जनाएको छ। मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रीस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको संघको आरोप छ।

महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा यो आन्दोलन समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख छ।

संघले आफ्ना मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने जनाएको छ। यद्यपि, वार्ता र संवादका लागि भने ढोका खुला रहेको संघको भनाइ छ।

संघले आफ्ना सदस्य संस्थालाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्नसमेत निर्देशन दिएको छ। निर्णय अवज्ञा गर्ने संस्थालाई संघबाट प्राप्त हुने सहयोग र संरक्षणबाट वञ्चित गरिने तथा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार