परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको र भ्रमण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ।
वर्तमान सरकार गठन भएपछि मन्त्री खनालले हालै तीन दिने भारतको औपचारिक भ्रमण सम्पन्न गरेका थिए। सो भ्रमण प्रभावकारी र उपलब्धिमूलक रहेको उनले बताए। भारतीय समकक्षीसँग द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण वार्ता भएको उनको भनाइ छ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दललगायत राज्यका सबै निकाय र सञ्चार क्षेत्र एकमत हुनुपर्नेमा जोड दिए। उनले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन पनि आग्रह गरे।
मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूको स्तरोन्नती गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाउने, लुम्बिनी फेलोसिप कार्यक्रम सुरु गर्ने, भू-रणनीतिक सम्मेलन आयोजना गर्ने र राहदानीको बायोमेट्रिकमा देखिएका चुनौती समाधान गर्ने जस्ता योजनाबारे जानकारी गराए।
कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकार आर्थिक समृद्धि र सुशासनका लागि प्रतिबद्ध रहेको बताए। प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयका कामकारबाहीबारे जानकारी गराएका थिए।
