नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। मध्यपूर्वको तनाव सामान्य अवस्थामा फर्किएपछि यो निर्णय भएको हो। यसको प्रभाव उपभोक्ताले उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले इन्धन मूल्यको लाभ आम उपभोक्तासम्म पुग्नुपर्ने बताइन्। उनले कृत्रिम मूल्यवृद्धि रोकी अत्यावश्यक वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई निर्देशन दिएकी थिइन्।
सोही निर्देशनअनुसार विभागले खाद्यान्नलगायत सबै उपभोग्य वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन विक्रेता, व्यवसायी, ढुवानी व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण सबैको दायित्व भएको उल्लेख गरेको छ। इन्धन मूल्य घटेको प्रभाव बजार मूल्यमा देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षसँग अनुरोध गरिएको छ।
