गण्डकी प्रदेशका ८ जिल्लामा शनिबार र आइतबार भारी वर्षाको सम्भावना देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, लम्जुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रात्रिकालिन सवारी आवागमन रोक्न निर्देशन दिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
जिल्ला प्रशासन कार्यालयले राति यात्रा नगर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेका छन्। गण्डकी प्रदेश सरकारले पनि ११ वटै जिल्लालाई सतर्क रहन आग्रह गरेको छ। प्रदेशको विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार जोखिम भएका जिल्लालाई सचेत हुन भनिएको बताए।
विपद् आइपरेमा सुरक्षा निकाय, स्थानीय तह तयारी अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ। जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, स्काभेटर, लोडर जस्ता साधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। प्रदेश सरकारसँग बलियो विपद् व्यवस्थापन संरचना नभएकाले जिल्ला प्रशासन कार्यालयमार्फत कदम चालिने आचार्यले बताए।
प्रमुख जिल्ला अधिकारीहरूलाई जानकारी गराइएको छ। जोखिमयुक्त जिल्लालाई बढी सतर्क रहन भनिएको छ। सुरक्षा निकायलाई पनि कुनै पनि बेला विपद्मा जुट्नुपर्ने हुनसक्ने भएकाले तयारी अवस्थामा रहन भनिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
म्याग्दी जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम र बेनी–दरवाङ रुटमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाएको छ। कालिगण्डकी करिडोरमा पनि बढी सतर्क रहन आग्रह गरिएको छ।
कास्की जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र लामो यात्रामा ननिस्कन नागरिकलाई अपिल गरेको छ। खोल्सा, खोला तथा नदी किनारमा नजान पनि आग्रह गरिएको छ।
कास्की प्रशासनले कास्कीबाट विभिन्न जिल्ला छुट्ने तथा बाहिरी जिल्लाबाट कास्की भित्रिने रात्रिकालिन सवारी साधन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालनमा रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार पृथ्वी राजमार्ग (पोखरा–काठमाडौं), सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल), भूपी शेरचन राजमार्ग (पोखरा–बागलुङ) र पोखराबाट मुग्लिन–नारायणगढ हुँदै पूर्वतर्फ जाने सवारीलाई रोक लगाइएको छ।
पोखरादेखि ग्रामिण क्षेत्रमा सञ्चालन हुने सवारी साधनलाई पनि शनिबार र आइतबार साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन नगर्न आग्रह गरिएको छ। प्रशासनले बाढी, पहिरो र डुवानको जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घरपरिवारलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न सचेत गराएको छ।
