गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको जानकारी दिएका छन्। बिहीबार त्रिपुरेश्वरमा नगर प्रहरीसँगको विवादपछि नेपालीले शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
घटनाको अनुसन्धान र सोधपुछका लागि तीन नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। गृहमन्त्री गुरुङले नेपालीको जीवनरक्षाका लागि भारत लैजाने प्रयास गरिएको बताए। चिकित्सकको सल्लाहअनुसार सम्भव नभएपछि वीर अस्पतालमा उपचार गरिएको उनको भनाइ छ।
विपक्षी सांसदहरूले सरकारमाथि लगाएको आरोपको खण्डन गर्दै गृहमन्त्री गुरुङले आफू स्टन्ट गर्न नभई देशको सेवा गर्न आएको बताए। उनले यो घटना संघीय सरकारको कारण नभई स्थानीय सरकारको नियम पालना गराउने क्रममा घटेको दाबी गरे।
उनले घटना घटेको स्थानीय तहमा कुन दलको सरकार छ भन्दै प्रश्नसमेत गरेका थिए। देश बनाउनका लागि सत्तापक्ष र प्रतिपक्षी नभनी सबै एकै ठाउँमा उभिनुपर्ने धारणा उनले व्यक्त गरे।
