इन्डोनेसियाको बालीमा एक नेपाली पर्यटक गौरव राणाले बाथरुममा माकुरा धपाउने सामान्य प्रयास गर्दा करिब १ करोड ५० लाख नेपाली रुपैयाँ (१ लाख १२ हजार अमेरिकी डलर) बराबरको आलिसान भिल्ला जलेर खरानी भएको छ। उत्तरी कुटाको टिबुबेनेङ गाउँस्थित ‘भिल्ला जुलिया’ मा अक्टोबर ५ तारिख सोमबार यो घटना भएको हो।
स्थानीय सञ्चारमाध्यम र प्रहरीका अनुसार, ४५ वर्षीय गौरव राणाले बाथरुममा माकुराको जालो देखेपछि त्यसलाई छुन नचाहेर आगो देखाएर धपाउने प्रयास गरे। उनले एउटा कागजमा आगो लगाएर त्यसै छाडेर अर्को कोठातिर लागेपछि यो दुर्घटना भएको थियो।
बलिरहेको कागजले भिल्लाको छाना जलायो
राणा अर्को कोठामा गएकै बेला एक्कासि चलेको कडा हावाले बलिरहेको कागज उडाएर भिल्लाको छानामा पुर्यायो। बालीका परम्परागत भिल्लाहरूको छाना ‘अलङ-अलङ’ नामक सुक्खा घाँसबाट बनाइन्छ, जुन अत्यन्तै प्रज्ज्वलनशील हुन्छ। हावाको वेग र सुक्खा घाँसको छानाका कारण आगो यति छिटो फैलियो कि केही बेरमै दुई तले भिल्ला दन्किएर खरानी भयो।
२ घण्टासम्म आगो नियन्त्रणमा आएन
बाडुङ प्रहरीका प्रवक्ताका अनुसार, घटनाको जानकारी पाउनासाथ ७ वटा दमकल, ६० हजार लिटर पानी र दमकलकर्मीहरू आगो निभाउन खटिएका थिए। तर, दुई घण्टासम्म पनि आगो नियन्त्रणमा आउन सकेन। भिल्ला र त्यहाँ भित्र रहेका सम्पूर्ण फर्निचर जलेर नष्ट भए। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन र नेपाली पर्यटक गौरव राणा सुरक्षित रहेको प्रहरीले जनाएको छ।
क्षतिपूर्ति र कारबाहीबारे अधिकारीहरू मौन
आफ्नो सामान्य लापरबाहीले करोडौँको क्षति गराएका गौरव राणाले यसको क्षतिपूर्ति तिर्नुपर्छ वा उनीमाथि कुनै कानुनी कारबाही हुन्छ भन्ने विषयमा इन्डोनेसियाली अधिकारीहरूले अहिलेसम्म आधिकारिक जानकारी दिएका छैनन्। यो घटना अहिले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ।
