सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य भएका छन्।
शनिबार सम्पन्न वार्ताबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच यो सहमति भएको हो। सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लीलाधर सुवेदी र प्रसाईं समूहका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।
काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा बसेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपश्चात् उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
