गृहमन्त्री सुधन गुरुङलाई जनताको ठूलो आशा र भरोसाले जिम्मेवारी निर्वाहमा कमजोरी पो हुन्छ कि भन्ने डरले सताउने गरेको छ। काठमाडौंमा आयोजित जेन-जी शहीद स्मृति दिवसका अवसरमा उनले जनताको विश्वास जोगाइराख्नु नै सबैभन्दा ठूलो चुनौती र मानसिक दबाब बनेको सुनाए।
‘मन्त्रालयमा जनता हाम्रै मान्छे छ भनेर ठूलो आशा बोकेर आउनुहुन्छ। त्यसैले मलाई सुत्न पनि डर लाग्छ,’ मन्त्री गुरुङले भने, ‘कुनै काममा कमजोरी पो भइहाल्ने हो कि भनेर मलाई १०० मा ९९ प्रतिशत डर लागिरहन्छ।’
नागरिकले आफूलाई आफ्नै छोरा र भाइ सम्झेर जिम्मेवारी दिएको स्मरण गर्दै मन्त्री गुरुङले त्यो कुर्ची व्यक्तिगत प्रतिष्ठा नभई शहीदहरूको सपना भएको बताए। ‘त्यो मन्त्रालयको कुर्सीमा बस्दा मलाई मात्र नदेख्नुहोला, त्यहाँ शहीदहरूको सपना र तपाईंहरूको आफ्नै छोरा बसेको छ भनेर बुझिदिनुहोला,’ उनले आग्रह गरे।
कर्मचारीतन्त्रको परम्परागत शैलीभन्दा बाहिर निस्किएर सरकारले काम गरिरहेको दाबी गर्दै उनले समयको सीमामा नबाँधिएर जनताको काममा खटिरहेको बताए। ‘हामीलाई ५ बजे कतिखेर घर जाम्ला भनेर हतार छैन। जतिबेलासम्म सकिन्छ, जनताकै काममा घोटिइरहेका छौं,’ उनले थपे।
नयाँ पुस्ताको सरकार भएकाले कार्यशैली वा बोलीचालीमा केही सामान्य त्रुटि हुन सक्ने स्वीकार गर्दै उनले नियतमा भने कुनै खोट नरहेको बताए। ‘हाम्रो बोली, भाषण वा पहिरन नमिल्ला, तर हाम्रो नियत सधैं सफा छ,’ मन्त्री गुरुङले भने, ‘हामी नागरिकबाट सुझाव लिन र आफ्ना कमजोरी सुधार्न सधैं तयार छौं।’
गृहमन्त्री गुरुङले अब जनता वा आन्दोलनकारीमाथि राज्यको गोली नचल्ने उद्घोष गरेका छन्। अधिकार माग्ने नागरिकमाथि दमन गर्ने दिन सकिएको उल्लेख गर्दै उनले गोली नै चल्नुपर्ने अवस्था आए पहिला गृहमन्त्रीको छातीमा लाग्नुपर्ने बताए।
उनले सुरक्षा निकायलाई राजनीतिक स्वार्थमा दुरुपयोग गर्ने विगतको गलत संस्कार अन्त्य गरिएको दाबी गरे। ‘विगतमा अधिकार माग्दा हाम्रा दाजुभाइ-दिदीबहिनीमाथि गोली बर्साइयो। तर अब यो देशमा कसैले जनतामाथि गोली चलाउने हिम्मत गर्न सक्दैन,’ उनले भने, ‘यदि माग पूरा गर्न गोली नै चलाउनुपर्ने हो भने पहिला त्यो गोली मेरो छातीमा चल्नुपर्छ, त्यसपछि मात्र जनतामाथि चल्छ।’
सुरक्षा निकायभित्र विगतमा रहेको राजनीतिक हस्तक्षेप र आर्थिक चलखेल अन्त्य गरिएको उल्लेख गर्दै उनले प्रहरी र सेनालाई स्वतन्त्र छाडिएको बताए। ‘सरुवा र बढुवाका लागि नेताका घरमा सुटकेस बोकेर धाउनुपर्ने बाध्यता हामीले हटाइदिएका छौं,’ उनले भने, ‘उहाँहरूलाई काम गर्न ‘फ्री’ छाडिदिएका छौं।’
आफू र वर्तमान सरकार कुनै पनि आर्थिक प्रलोभनमा नफस्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘छाती चौडा पारेर भन्छु, १ रुपैयाँ भ्रष्टाचार गरेको कसैले देखाउन सक्दैन। ढुक्क हुनुहोस्, यसपालि तपाईंहरूको गृहमन्त्री घुसिया होइन।’ उनले देशलाई सिंगापुर वा स्विट्जरल्यान्ड बनाउने लक्ष्य नभएको तर नेपाललाई नेपाल नै बनाएर जनताका सपना पूरा गर्ने बताए।
