NM Khabar 4 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तराईका १४ जिल्लामा तातो लहरको चेतावनी: भैरहवा ४१ डिग्री सेल्सियसमा

जल तथा मौसम विज्ञान विभागले तराईका १४ जिल्लामा तातो लहरको चेतावनी जारी गरेको छ। भैरहवामा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। गर्मीबाट बच्न घरभित्र बस्ने, हल्का लुगा लगाउने, प्रशस्त झोल पदार्थ पिउने सुझाव दिइएको छ।
Kamala Devi
Kamala Devi
4 June 2026, 8:47 pm १ मिनेट पढाइ
आकार:
तातो लहर चेतावनी
Share:

तराईका १४ जिल्लामा तातो लहर चल्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष बुलेटिन जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ। आगामी तीन दिनसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी पुग्ने अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार अपराह्न जारी गरेको बुलेटिनमा १४ जिल्लामा सतर्क रहन भनिएको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार बिहीबार भैरहवामा ४१ डिग्री र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा आगामी तीन दिनसम्म मध्यम तातो लहर चल्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा ‘तातो दिन’ हुने सम्भावना छ।

विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका नागरिकलाई तातो हावा चल्नसक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। कञ्चनपुर, कैलाली, नवलपरासी (पूर्व), चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई भने अध्यावधिक सूचना हेर्न भनिएको छ।

तातो हावा तथा तातो लहरका कारण थकाई लाग्ने, कमजोरी, तिर्खा, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्।

गर्मीबाट बच्न अत्यधिक गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्नुपर्छ। बाहिरी वातावरणमा बढी ननिस्कने, चर्को घाममा नजाने र सुती कपडाजस्ता हल्का पहिरन लगाउन मौसमविद् पुडासैनीले सुझाव दिएका छन्। बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउने, नियमित प्रशस्त पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार