NM Khabar 7 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

दर्जनौँ सडक अवरुद्ध, बीपी राजमार्गमा राति सवारी रोक्का

देशभरका एक दर्जनभन्दा बढी सडकखण्ड वर्षा र पहिरोका कारण अवरुद्ध भएका छन्। बीपी राजमार्गमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
Sanjay Karki
Sanjay Karki
7 August 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
सडक अवरुद्ध वर्षा
Share:

पहिरो, सडक कटान र सम्भावित बाढीले देशभर एक दर्जनभन्दा बढी सडकखण्ड अवरुद्ध पारेको छ। नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिम छ। यस खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी चल्न पाउनेछन्।

कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक छ। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्ग भने सञ्चालनमा छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन्। लामोसाँघु–रामेछाप सडकखण्डको दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गर्दा यातायात ठप्प छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालन गरिएको छ।

रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर र मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

म्याग्दीमा रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ। गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि यातायात ठप्प छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार