देशभर मनसुनी वायुको प्रभावले भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य बदली छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। तराई भूभागका केही स्थानमा पनि यस्तै वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर सामान्य बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याएको छ।
