मनसुनी वायुको प्रभावले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ।
देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
आज राति देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
भारी वर्षापछि ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने सम्भावना छ।
