कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा बिहीबार राति भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले साँझ ६:१० बजे विशेष मौसमी बुलेटिन जारी गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
यसैगरी, रातिको समयमा मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।
भारी वर्षाका कारण पहाडी भेगमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने र तराईका भू-भागमा डुबान हुनसक्ने जोखिम छ। नदी तटीय क्षेत्र तथा कमजोर संरचना आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, सङ्खुवासभामा पनि भारी वर्षाको सम्भावना छ। जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्र तथा पहरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार कोशी प्रदेशमा असोज ९ गतेदेखि वर्षाको गतिविधि बढ्दै जाने र धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
असोज ११ गतेसम्म सङ्खुवासभासहित हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा कटानजस्ता विपद्जन्य जोखिम हुनसक्ने भएकाले जिल्लावासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। यही असोज ९ देखि ११ गतेसम्म खोला तथा नदी किनारमा होटल तथा रेस्टुरेन्टमा भेला नहुन, अनावश्यक हिँड्डुल नगर्न तथा माछा मार्न नजान प्रशासनले अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षा उपाय अपनाउन आग्रह गरिएको छ। प्रशासनले सोही अवधिमा बेलुका ६:०० बजेसम्म मुख्य राजमार्गबाहेक अन्य भित्री, कच्ची तथा ग्रामीण सडकमा सवारीसाधन सञ्चालन रोकेको छ।
सम्भावित विपद्को समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीलगायत विपद्का क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूलाई आवश्यक आपत्कालीन सामग्रीसहित तयारी अवस्थामा रहन पनि प्रशासन कार्यालयले आग्रह गरेको छ।
भारी वर्षाको सम्भावनाका कारण सङ्खुवासभाका १० वटै स्थानीय तहका सबै विद्यालय असोज ९ देखि ११ गतेसम्म तीन दिन बन्द रहने भएका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको हो।
यस्तै, यही असोज ९ देखि १२ गतेसम्म भारीदेखि अतिभारी वर्षा हुन सक्ने पूर्वानुमानका कारण सङ्खुवासभामा उत्तर-दक्षिण कोशी सडकखण्डमा यातायात सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। मकालु गाउँपालिकाको नेताभिरबाट भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मका विभिन्न सडकखण्डमा पहिरो खस्ने, सडक भासिने तथा नदी कटानका कारण आवागमन अवरुद्ध हुनसक्ने सम्भावना छ।
