राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपाली प्रकरणमा गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभामा भावुक बने। सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनी गह्राएका थिए।
गृहमन्त्री गुरुङले मुखले मात्र सेवाको कुरा गर्ने समय सकिएको बताए। उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन। त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ।’
उनले घटनास्थलभन्दा बाहिर रहेका ट्राफिक प्रहरीले ह्वील लक गरेको विषयमा प्रश्न उठाए। उनले स्थानीय र प्रदेश सरकारको भूमिकामाथि ध्यानाकर्षण गराए।
गुरुङले भने, ‘एउटा संघीय सरकार, प्रदेश सरकार र अर्को स्थानीय सरकार हुन्छ। जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन। कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ?’
उनले स्थानीय र प्रदेश सरकारमा विपक्षी दलहरूको पनि भूमिका रहेको दाबी गरे। उनले प्रश्न गरे, ‘स्थानीय सरकार कसको छ अहिले? प्रदेश सरकार कसको छ अहिले? दुई तहको सरकार त तपाईंहरूसँगै छ। यो नियम कानुन कसले बनाएको हो? तपाईंहरूले बनाएको कानुन हामीले पालना गरेका हौं।’
सरकार सञ्चालन भाषणले नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्ने गुरुङले बताए। उनले जनताको पीडा बुझ्न आफूहरू घटनास्थलमा पुगेको र त्यसलाई स्टण्टबाजीको रूपमा नलिन आग्रह गरे।
उनले घटनापछि अस्पताल पुगेका सांसदहरूको संख्या र भूमिकाबारे पनि प्रश्न उठाए। ‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरू कति जना पुग्नुभएको थियो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ, उहाँहरूमध्ये को–को त्यहाँ हुनुहुन्थ्यो?’ उनले भावुक हुँदै सोधे।
यसैबीच, मुगुका गणेश नेपालीको मृत्युको घटनापछि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले माइतीघरमा रोकेपछि काठमाडौंको माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ। संयुक्त विद्यार्थी संगठनले सरकारकै कारण गणेश नेपालीले मृत्युवरण गर्नुपरेको, सुकुम्बासीमाथि अन्यायपूर्ण विस्थापन, दमन र मानवअधिकार उल्लंघनको विरोधमा प्रदर्शन गरिरहेका छन्।
गृहमन्त्री गुरुङले गणेश नेपालीको जीवनरक्षाका लागि रातभर प्रयास गरेको जानकारी गराए। विदेश लैजाने तयारी गर्दागर्दै उनको स्वास्थ्य अवस्था जटिल बनेकोले सम्भव नभएको बताए। रातभर काम गर्दा पनि उल्टै आरोप खेप्नुपरेको भन्दै उनले संसदमा आँसुसमेत खसालेका थिए।
