मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

भारतको ८० करोड अनुदानमा ८ सामुदायिक विकास परियोजना बन्ने

भारत सरकारको ८० करोड ३० लाख रुपैयाँ अनुदानमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा आठ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना नेपालमा सञ्चालन हुने भएका छन्। यससम्बन्धी समझदारीपत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकारका सम्बन्धित मन्त्रालयबीच हस्ताक्षर भएको छ। सन् २००३ देखि भारतले नेपालमा ६०५ यस्ता परियोजना अघि बढाएको छ, जसमध्ये ५१२ सम्पन्न भइसकेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
भारत नेपाल अनुदान परियोजना
Share:
१४८

भारत सरकारको ८० करोड ३० लाख रुपैयाँ अनुदानमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा आठ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना नेपालमा सञ्चालन हुने भएका छन्। यससम्बन्धी समझदारीपत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच हस्ताक्षर भएको छ।

भारतीय राजदूतावासका अनुसार आठवटै परियोजनाको कुल अनुमानित लागत ८० करोड ३० लाख रुपैयाँ रहेको छ। परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन हुनेछन्।

समझदारी भएका परियोजनामध्ये कोशी प्रदेशको सुनसरीस्थित धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण र मोरङको बेलबारी नगरपालिका–३ स्थित बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण रहेका छन्।

विज्ञापन

त्यस्तै, बागमती प्रदेशको धादिङस्थित ज्वालामुखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण, कर्णाली प्रदेशको दैलेखस्थित डुङ्गेश्वर गाउँपालिका–५ मा १० शैयाको अस्पताल निर्माण र हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र निर्माण गरिनेछ।

गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण तथा कोशी प्रदेशको सुनसरीस्थित बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण पनि परियोजनामा समेटिएका छन्।

भारतीय दूतावासका अनुसार सन् २००३ यता भारत सरकारले नेपालमा यस्ता ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगितासँग सम्बन्धित ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्।

दूतावासले नेपाल भारतको नजिकको छिमेकी भएको उल्लेख गर्दै प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा समृद्धिका लागि नेपाल सरकारले अघि बढाएका प्रयासमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत भारतको निरन्तर सहयोग प्रतिबिम्बित हुने जनाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार