भारतीय वायुसेनाको एउटा सैन्य विमान आसामको जोरहाटमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा पाँच सैन्यकर्मीको मृत्यु भएको छ। जोरहाटस्थित रौरिया सैन्य आधारमा शनिबार यो दुर्घटना भएको हो।
दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको निधन भएको छ। विमानमा सवार एक सह-चालक जीवित फेला परेका छन्।
दुर्घटनास्थलमा विमान टुक्रा-टुक्रा भएको र आकाशमा कालो धुवाँ उडेको दृश्य देखिएको एनडीटीभीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार अवतरणका क्रममा विमानमा आगलागी भएपछि दुई भागमा विभाजित भएको थियो।
वायुसेनाले विमान नियमित उडानमा रहेको जनाएको छ। दुर्घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन गठन गरिएको छ। अवतरणको अन्तिम चरणमा प्राविधिक समस्या आएको आशंका गरिएको छ।
रुसी निर्मित एन्टोरोभ एएन–३२ विमान दुर्गम इलाकामा सामान ढुवानी र सैन्य परिचालनका लागि प्रयोग गरिन्छ। भारतीय वायुसेनाले सन् १९८० को दशकदेखि यस्ता विमान प्रयोग गर्दै आएको छ।
यसअघि सन् २०१९ मा अरुणाचल प्रदेशमा पनि एएन–३२ विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको थियो।
