नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेँसी पुगेका छन्। चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा फसेका व्यक्तिको उद्धार कार्यबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन्। श्रीवास्तवले स्याफ्रुबेँसीमा खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी उद्धारको अवस्थाबारे ‘एक्स’मार्फत जानकारी दिए।
भारतीय प्राविधिक टोली नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे पावरहाउस सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि सुरुङ खन्ने तथा खोजी कार्यमा जुटिरहेको छ। विशेष उपकरण प्रयोग गरी टोलीले सुरुङभित्र करिब १०० मिटरभन्दा बढी भाग अन्वेषण गरिसकेको छ। थप अगाडि बढ्न भारी उपकरण ल्याउने तयारी भइरहेको छ।
उद्धार कार्य भइरहेको क्षेत्रमा जमिन दलदलजस्तो छ। भू–भागसमेत निकै चुनौतीपूर्ण छ। कठिन भौगोलिक अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद भारतीय तथा नेपाली टोलीले उद्धार कार्यलाई निरन्तरता दिएका छन्।
