इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनी ‘अत्यन्त गम्भीर अवस्था’मा रहेको रिपोर्ट गरेको छ।
जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले भनेको छ, ‘हामी चाँडै उनको शहादतको समाचार सुनेर अचम्मित हुने छैनौँ।’ च्यानल १४ ले इरानवायर र राष्ट्रपति मसूद पेजेस्कियानको प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ।
सन् २०२६ को फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा पिताको मृत्युपछि मोज्तबाले सर्वोच्च नेताको पद सम्हालेका थिए। पदभार ग्रहण गरेदेखि उनी कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन्।
उनको अनुपस्थितिले उच्च अधिकारीहरूसँगको सम्बन्धबारे अड्कलबाजीलाई जन्म दिएको छ। इरान अमेरिकाविरुद्ध द्वन्द्वमा रहेको बेला यो अनुपस्थिति झनै अर्थपूर्ण बनेको छ।
रिपोर्टहरूले उनी संयुक्त आक्रमणको प्रारम्भमा नै घाइते भएको दाबी गरेका छन्। सम्भवतः अनुहारमा लागेको चोटका कारण उनी लुकेर बस्न बाध्य भएका हुन्। उच्च अधिकारीहरूसँग बिचौलियामार्फत शासन सञ्चालन गर्नुपरेको अनुमान छ।
राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामेनीसँग प्रत्यक्ष अन्तरक्रिया ‘निकै कठिन’ भएको स्वीकारेका छन्। यसले उनको स्वास्थ्यबारेको अटकलबाजीलाई थप बल पुर्याएको छ।
यसअघि जुलाईमा साउदी समाचार संस्था अल–हदाथले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै खामेनी ‘इरानमा हुनुहुन्न’ भन्ने दाबी गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्यूजसँगको अन्तर्वार्तामा खामेनीको स्वास्थ्य अवस्था ‘९० प्रतिशत गइसकेको’ बताएका थिए।
इरानी अधिकारीहरूले यी दाबीहरूको खण्डन गर्दै आएका छन्। उनीहरूका अनुसार, खामेनीले देशका लागि रणनीतिक निगरानी र सञ्चालन निर्देशनहरू निरन्तर दिइरहेका छन्।
