NM Khabar 19 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जोर्डनमा इरानी आक्रमण: २ अमेरिकी सैनिकको मृत्यु, अमेरिकाद्वारा नयाँ सैन्य कारबाही

जोर्डनमा इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ। यसको जवाफमा अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण थालेको छ। इरानले अमेरिकी आक्रमण जारी रहे सीमा सुरक्षित नहुने चेतावनी दिएको छ।
Bikram Magar
Bikram Magar
19 July 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
इरान अमेरिकी आक्रमण
Share:

जोर्डनमा इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ। यसको जवाफमा अमेरिकाले नयाँ चरणको सैन्य कारबाही थालेको छ।

अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। यो कारबाही जोर्डनमा दुई अमेरिकी सैनिक मारिने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुःखद भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने बताए।

अमेरिकी सेनाले शनिबार युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ। शुक्रबार भएको ड्रोन र मिसाइल आक्रमणमा ती सैनिक मारिएका थिए भने एकजना अझै बेपत्ता छन्।

थप चारजना सैनिक घाइते भई उपचाररत छन्। यस वर्ष फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी सेनाले जनाएको छ।

इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै उनको हस्ताक्षरको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन्। उनले अमेरिका नै हालै भएको सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप पनि लगाए।

कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ। यसअघि पनि विद्युत् तथा समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्टमा इरानी आक्रमण भएको आरोप लगाइएको थियो।

इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई ड्रोनमार्फत निशाना बनाउने प्रयास भएको बताइएको छ। त्यसलगत्तै त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जोर्डनमा शुक्रबार मारिएका दुई अमेरिकी सैनिकको मृत्युको बदला लिन राष्ट्रपति ट्रम्पको स्वीकृतिमा नयाँ हवाई आक्रमण सुरु गरिएको छ।

अमेरिकी सेनाले यी आक्रमणहरूको मुख्य उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमनमा इरानले सिर्जना गरेको खतरालाई कम गर्नु रहेको जनाएको छ।

केही दिनअघि ट्रम्पले इरानका सबै पुल र विद्युत् गृहहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए। यद्यपि अमेरिकी सेनाले हालसम्म हतियार भण्डारण स्थल र सैन्य अड्डाहरूलाई मात्र निशाना बनाइएको पुष्टि गरेको छ। पुल वा विद्युत् पूर्वाधारमाथि आक्रमण गरिएको विषयमा भने कुनै आधिकारिक पुष्टि गरिएको छैन।

अमेरिका र इरानबीचको तनाव चर्किएको छ। अमेरिकाले विगत आठ दिनदेखि लगातार इरानमाथि हवाई आक्रमण गरिरहेको छ।

शनिबार अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड्सविरुद्ध पनि नयाँ हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार यसको उद्देश्य होर्मुज जलमार्गहुँदै तेल ट्यांकरहरूको आवागमन अवरुद्ध गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु हो।

यसैबीच, इरानले अमेरिकी आक्रमण जारी रहे कुनै पनि सीमा सुरक्षित नहुने चेतावनी दिएको छ। यो चेतावनी कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले आक्रमण गरेको बताइएको घटनाअघि सार्वजनिक गरिएको थियो।

इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनीईका वरिष्ठ सैन्य सल्लाहकार तथा रिभोलुसनरी गार्ड्सका पूर्वप्रमुख मेजर जनरल मोहसेन रेजाईले इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकालाई प्रत्यक्ष चेतावनी दिएका हुन्। रेजाईले भने, “यदि, अमेरिकी आक्रमण अझ केही दिन जारी रहे हामी युद्धलाई पूर्ण रूपमा पुनः सुरु गर्ने चरणमा प्रवेश गर्नेछौँ।”

इरानी सरकारी समाचार एजेन्सी आईआरआईबीका अनुसार, उनले इरान अब केवल बराबरीको जवाफी कारबाहीमा सीमित नरहने र त्यसपछि कुनै पनि सीमा सुरक्षित नहुने बताएका हुन्। उनको यो अभिव्यक्तिपछि इरानले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालक्षित मिसाइल प्रहार गरेको जनाइएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार