दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्ता पछि दुवै पक्ष युद्धविराममा सहमत भएको केही दिनमै भएको हो।
लेबनानी सेनाका अनुसार खर्दाली–नबातियेह सडकमा एक सैन्य सवारीसाधनमाथि भएको इजरायली आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको मृत्यु भएको हो। इजरायली सेनाले शनिबार भएको उक्त आक्रमण सक्रिय सैन्य कारबाही भइरहेको क्षेत्रमा भएको जनाएको छ।
इजरायली सेनाले युद्धक्षेत्रभित्र हुने आवतजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। लेबनानी सेनाले इजरायली आक्रमण समाधान खोज्न भइरहेका सबै प्रयासलाई असफल बनाउने उद्देश्यबाट प्रेरित भएको जनाएको छ।
लेबनानका राष्ट्रपति जोसेफ आउनले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई लेबनानी सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको गम्भीर उल्लंघन बताएका छन्। लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस घटनालाई जघन्य अपराध तथा लेबनान र सम्पूर्ण लेबनानी जनतामाथिको आक्रमणका रूपमा चित्रण गरेका छन्।
