जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको छ। उक्त टहरा भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट निर्माण गरिएको थियो। घटनामा मृतकका ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टीका थापा घाइते भएका छन्। स्थानीय बासिन्दाले उनीहरूको उद्धार गरेका हुन्।
भेरी नगरपालिका–२ कै राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा ७१ वर्षीया वृद्धा जसीकुमारी शाहीको मृत्यु भएको छ। प्रहरीका अनुसार हिजो साँझ करिब ७ बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा उनको मृत्यु भएको हो। घटनामा कुशे गाउँपालिका–५, दमदालाकी ३५ वर्षीया सीता शाह थापा र उनकी सात वर्षीया छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा–छोरीको उद्धार गरेका हुन्। उद्धार गरिएका सीता र मेनुका मृतक शाहीकी छोरी र नातिनी हुन्। भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए।
यस्तै, दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको छ। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार आइतबार राति ९ बजे माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा उनीहरू परेका थिए।
स्थानीयले उद्धार गरेर उनीहरूलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए। अस्पताल पुर्यालगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
