खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनकपुरधामका होटल र पानी उद्योगमा स्थलगत अनुगमन गरी कारबाही गरेको छ। खाद्य स्वच्छता तथा उपभोक्ता स्वास्थ्यमा गम्भीर असर परेको उजुरीपछि विभागको जनकपुरधाम कार्यालयले साउन ५ गते अनुगमन गरेको थियो। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार तीन व्यवसायलाई कारबाही र निर्देशन दिएको छ।
इनेजिक केगंन वाटर उद्योगलाई निर्देशन
जनकपुरधाम-८ को इनेजिक केगंन वाटर उद्योगले मापदण्डविपरीत काम गरेको पाइएको छ। उद्योगले प्रशोधित पिउने पानी उत्पादन गर्न सिफारिस लिएको थियो। तर २० लिटरको जारमा ‘अल्कालाइन वाटर’ बिक्री वितरण गरेको भेटियो। उद्योगले ‘मिराकल वाटर उद्योग’ नाम परिवर्तन गरेको थियो। विभागले तत्काल अल्कालाइन वाटर बिक्री वितरण रोक्न निर्देशन दिएको छ। सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन भनिएको छ।
श्री होटल मिथिला चिरायू र सौरभ खाउँ खाउँ चाट पसललाई निर्देशन
जनकपुरधाम-१० को श्री होटल मिथिला चिरायूमा सरसफाइको कमी थियो। मसी लागेको पत्रपत्रिका खानाको सिधा सम्पर्कमा प्रयोग गरिएको भेटियो। विभागले होटललाई सरसफाइमा ध्यान दिन र खानामा पत्रिका प्रयोग नगर्न निर्देशन दिएको छ।
जनकपुरधाम-४ को सौरभ खाउँ खाउँ चाट पसलमा पनि उस्तै अवस्था थियो। खानाको सिधा सम्पर्कमा मसी लागेको पत्रिका प्रयोग गरिएको र सरसफाइमा कमी भेटियो। पकाएको खाना सुरक्षित तापक्रममा राखिएको थिएन। विभागले चाट पसललाई सरसफाइ र खाना भण्डारणमा सुधार गर्न भनेको छ।
सबै व्यवसायलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार मापदण्ड कायम गर्न निर्देशन दिइएको छ।
