जनकपुरधामस्थित मिथिला थाली प्रा.लि.लाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापरबाही गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जनकपुरले गरेको बजार अनुगमनले यो कारबाही गरेको हो।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोसहितको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा होटलमा अखाद्य कृत्रिम रङ्गको प्रयोग भेटिएको थियो। टोलीले करिब ५ केजी ब्याटरसहित अखाद्य सामग्री नष्ट गरेको छ।
होटलको भान्छा कोठाको सरसफाइ अत्यन्तै न्यून थियो। भान्छा र भाँडा माझ्ने स्थान एउटै थियो। यसअघि दिइएका निर्देशनहरू समेत पालना नभएको पाइएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीमार्फत जरिवाना गरिएको हो।
सोही अनुगमनमा रामानन्द चोकको सृष्टि वैष्णव होटललाई दर्ता बिना व्यवसाय सञ्चालन गरेको र कमसल तेलमा जेरी तथा समोसा पकाएको भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गरियो।
विभागले जनकपुरका अन्य ६ वटा मिठाई तथा नास्ता पसलहरूको पनि अनुगमन गरेको थियो। रघुपति मिष्ठान्न भण्डार, स्वादिष्ट नास्ता पसल, शुभलक्ष्मी नास्ता पसल, मोहन माहाराजाजी नास्ता पसल, गुड्डु होटल र होटल सीराशरणमा सरसफाइको कमी, लेवल नभएका सामानको प्रयोग र मसीजन्य कागजमा खानेकुरा बिक्री गरेको पाइएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार कुल ८ वटा व्यवसायको अनुगमन गर्दा जम्मा ५० हजार रुपैयाँ जरिवाना असुल गरियो। कैफियत देखिएका पसलहरूलाई सुधारका लागि कडा निर्देशन दिइएको छ।
